भिजिट कर्णाली यातायातको टिकट अब मोबाइल एपबाटै काट्न सकिने

सुर्खेत । भिजिट कर्णाली यातायात प्रालिले अनलाइन प्रणालीबाट टिकट बुकिङलगायत सेवा दिन अनलाइन एप्स सार्वजनिक गरेको छ । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत यातायात प्रा.लि.ले भिजिट कर्णाली यातायात नामक अनलाइन एप्स सार्वजनिक गरेको हो ।

यातायात प्रालिका अध्यक्ष प्रकाश कुमार शाहीले २१ औं शताब्दीमा समयको मागसँगै यातायात सेवालाई सहज र मर्यादित डिजिटल प्रविधि बनाउनका लागि आफ्नै एप्स बनाएको बताए । भिजिट कर्णाली यातायात प्रालिले आफ्नो सेवालाई स्तरीय र भरपर्दो सुरक्षित बनाउनलाई यो एप्सको शुरवात गरेको उनको भनाइ छ ।

उनका अनुसार यो एप्स प्ले स्टोरमा गएर भिजिट कर्णाली यातायात सर्च गरेर डाउनलोड गर्न सकिने छ । यस यातायात प्रालिले स्थापनादेखि हालसम्म २३ जना वृद्धा र १५ जना अपाङ्गता भएकालाई ५० प्रतिशतमा छुट दिइसकेको छ । हाल भिजिट कर्णालीका ४६ वटा गाडी रहेका छन् । ‘समृद्ध कर्णालीका लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ भन्ने मूल नाराका साथ उक्त यातायात प्रा.लि.ले २०८० पुस २४ गतेबाट सेवा सञ्चालनमा ल्याएको थियो ।