गीता थापा
सुर्खेत । सुर्खेतमा ६ वर्षको अवधीमा १४ हजार चार सय २४ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि भएको देखिएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या दुई हजार ६ सय तीन रहेको थियो । त्यस्तै २०७७÷०७८ मा दुई हजार चार सय ९१ जना, २०७८÷०७९ मा दुई हजार ६ सय १५ जना, २०७९÷०८० मा दूई हजार ६ सय ६१ र २०८०÷०८१ असारसम्म चार हजार ५४ गरी १४ हजार चार सय २४ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । अघिल्ला वर्षको तथ्यांक हेर्दा यस आर्थिक वर्षमा गर्भपतन सेवा लिने महिलाको संख्या दोब्बरले बृद्धि भएको देखिन्छ ।
औषधीद्धारा गर्भपतन गर्ने महिलाको संख्या नौ हजार ६ सय ५८ रहेको छ भने औजारद्धारा चार हजार सात सय ६६ महिलाले गर्भपतन गराएका छन् ।
६ वर्षको अवधीमा २० वर्ष मुनिका एक हजार तीन सय १६ किशोरीले गर्भपतन गरेको तथ्यांक जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँग छ । औजार मार्फत गर्भपतन गराउने किशोरीको संख्या चार सय २८ रहेको छ भने औषधीद्धारा गर्भपतन गराउने आठ सय ८८ किशोरी रहेका छन् ।
सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपालले २०५९ असोज १० गते मुलुकी ऐनको ११ औं संशोधनद्धारा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।
सुरक्षित गर्भपतन गर्नेको संख्या सबै भन्दा धेरै वीरेन्द्रनगरमा रहेको छ भने सबै भन्दा कम चिङ्गाड गाउँपालिकामा रहेको छ । २०८०÷८१ मा वीरेन्द्रनगरमा मात्र चार हजार दुई सय ३५ र चिङ्गाड गाउँपालिकामा २५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । एक वर्षको अवधीमा लेकवेशी नगरपालिकामा ३६ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । गुर्भाकोट नगरपालिकामा ७७ जना, बराहताल गाउँपालिकामा ४६ र पञ्चपुरी नगरपालिकामा दुई सय ७१ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका पब्लिक हेल्थ नर्सिङ्ग निरीक्षक अन्जना भण्डारीले जानकारी दिइन् । पछिल्लो समय सुर्खेतमा औषधी तथा औजार प्रयोग गरेर गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि हुँदै गइरहेको उनको भनाई छ ।
सरकारले सुरक्षित गर्भपतनका लागि ७ प्रकारको औषधी निशुल्क उपलब्ध गराउदै आएपनि सरकारी स्वास्थ्य संस्थामा कमै मात्र महिला सेवा लिन जाने गरेको निरीक्षक अन्जना भण्डारीले बताइन् । भण्डारीले सरकारले सुचिकृत गरेको स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्ने बताउनुभयो । नीजि स्वास्थ्य संस्थामा गर्भपतनका थुप्रै औषधी जथाभावी विक्रि वितरण गर्ने र नियामक निकायको ध्यान जान नसकेको उनको भनाई छ ।
स्त्री रोग तथा प्रसुती विशेषज्ञ डा. नम्रता भट्टराईले असुरक्षित गर्भपतन सेवाका कारण ५ प्रतिशत महिलाको मृत्यु हुने गरेको बताइन् । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने कानूनमा उल्लेख छ । डा. भट्टराईले गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबरजस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, वंशाणुगत खराबी हुने अवस्थामा मात्र उपचारमा सङ्लग्न चिकित्सकको सल्लाहबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था समेत रहेको जानकारी दिइन् ।
सरकारले सुरक्षित गर्भपतन सेवाका लागि सुर्खेतका १४ वटा सरकारी र ५ वटा निजी स्वास्थ्य संस्थाहरुलाई सुचिकृत गरेको छ । वीरेन्द्रनगरको प्रदेश अस्पताल कालागाउँ, नगर अस्पताल, उत्तरगंगा स्वास्थ्य संस्था, कटुकुवा स्वास्थ्य संस्था, छिन्चु स्वास्थ्य संस्था, रामघाट स्वास्थ्य संस्था, मेहेलकुना अस्पताल, दशरथपुर स्वास्थ्य संस्था, अवलचिङ्ख स्वास्थ्य संस्था, कुनाथरी स्वास्थ्य संस्था, लेकगाउँ स्वास्थ्य संस्था, सालकोट स्वास्थ्य संस्था, गुढु स्वास्थ्य संस्था र राकम स्वास्थ्य संस्था गरी १४ वटा सरकारी स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतनका लागि सुचिकृत गरेको छ ।
यस्तै नेपाल परिवार नियोजन संघ सुर्खेत, मेरीस्टोप सेन्टर, देउती अस्पताल, माया नर्सिङ्ख होम र माया नर्सिङ्ख होमलाई सरकारले सुक्षित गर्भपतनका लागि सुचिकृत गरेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार हुनेछ भनि व्यवस्था गरेको छ ।
आवाजपत्र । २८ फाल्गुन २०८१, बुधबार १५:२६