सुर्खेत । कर्णाली प्रदेशका सात वटा स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार हुन बाँकी रहेको छ । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका सात वटा स्थानीय तहमा टेलिकमको सेवा विस्तार हुन बाँकी रहेको हो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनलाय सुर्खेतका डा. मधुसुदन दाहालले डोल्पाका तीन र हुम्लाका चार स्थानीय तहमा सेवा विस्तार गर्न बाँकी रहेको जानकारी दिए । बाँकी रहेका स्थानीय तहमा पनि काम सुरु भइसकेको र अबको एक दुई वर्ष भित्र नै सेवा विस्तार गरिने उनको भनाई छ । उनले कर्णालीमा नेपाल टेलिकमका दुई सय ८१ वटा टावरहरु रहेको र केही टावर निमार्णका क्रममा रहेको बताए ।
निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले टेलिकमको सेवालाई थप प्रभावकारी बनाउन २४ सै घण्टा काम भइरहेको र सम्बन्धित सरोकारवालाहरुसंग पनि समन्वय भइरहको बताए । ग्राहकमुखी सेवा दिन लागि परिरहेको उनले बताए । भौगोलिक विकटताका कारण सेवा विस्तारमा ढिलाई भएको उनको भनाई छ । उनले सोलारबाट मात्रै सञ्चालित ५४ प्रतिशत साइट मध्ये १४ वटा टावरलाई विद्युतीकरण गरिएको र उक्त कार्यलाई निरन्तर अगाडी बढाउने कार्यक्रम रहेको जानकारी दिए ।
यस्तै नेपाल टेलिकमको हाल नेपालभर एक करोड ५२ लाख ग्राहक रहेका छन् । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेतलले भोली (मंगलवार) विभिन्न कार्यक्रम गरी २१ औं वार्षिक उत्सव मनाउँदैछ ।
आवाजपत्र । २१ माघ २०८१, सोमबार १९:३८