गीता थापा
सुर्खेत । भेरीगंगा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । गाउँका अधिकांश घर वरिपरि अब हरियाली बगैँचामा परिणत भएका छन्, जहाँ लिचीका राताराता दाना लटरम्म फलेका देखिन्छन् ।
यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफुलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकै खेतीको तुलनामा फलफुल खेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै समेत लिची र आँपका बिरुवा रोप्न थालेका छन् । जसको परिणामस्वरूप रामघाट अब लिची उत्पादनको केन्द्रविन्दु बन्न थालेको छ । गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ–नभ्याइ छ । हरेक बिहान बोटमा भर्याङ ठड्याएर पाकेका दाना टिप्ने चटारो देखिन्छ ।
रामघाट वडा नम्बर ११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक रुपमा लाखौंको आम्दानी गर्दै आइरहेकी छन् । ४६ वर्षीया धौलाकोटीले करिब ४ बिघा क्षेत्रफलमा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट लगाएकी छन् । २५ वर्ष अघि रोपेका लिची र आँप रुपाका लागि अहिले आम्दानीको स्रोत बनेको छ । ‘‘यसपालि हावाहुरीले आँपमा असर ग¥यो तर लिची राम्रो फल्यो,” उनले बताइन् ।
उनका अनुसार बोटमै प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनी बताएछिन् । “वार्षिक रूपमा लिचीबाट मात्र एक लाख भन्दा बढी आम्दानी हुन्छ,” उनले भनिन्, “यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु ।”
उनले थपिन्, ‘‘बाहिरबाट ल्याइने फलफुलमा विषादीको मात्रा बढी पाइने खबरले गर्दा पनि यसपालि ग्राहकहरु आफै लिचि बंगैचा मै आउने गर्नुभएको छ, यसले हामी किसानले बजार खोज्न जान पनि परेको छैन र मुल्य पनि पाएका छौं ।’’
रुपा जस्तै रामघाट ११ का किसान टेकबहादुर धमला बिहानैदेखि लिची टिप्न व्यस्त छन् । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आएका धमलाले यस वर्ष पनि लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । “यो वर्ष किरा लागेर लिची उत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन ।’’ उनले भने, “तर पनि झण्डै एक लाख रुपैयाँ जति आम्दानी भयो ।’’
धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, “पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।’’
रामघाटमा प्रायः घरघरमा दुई चारवटा लिचीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यवसायिक रूपमा विस्तार गर्न थालेका छन् । धमलाले थपे, “अहिले गाउँका धेरै किसान लिची खेती गर्न थालेका छन् । सुरुवाती लगानी धेरै नपर्ने र बजार सहज भएकोले लिची आकर्षक बन्दै गएको हो ।’’ किसान धमलाका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिची खेती सुर्खेतको मुख्य कृषि पेसामै रूपान्तरण हुन सक्छ ।
हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगन्ज र दाङमा लिची विक्रि गर्दै आइरहेका छन् ।
भेरीगंगा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, “रामघाटको वडा नम्बर १२, ७ र ८ मा पनि लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’’
रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टरमा, सुन्तला ३.१ हेक्टरमा, केरा १६ हेक्टरमा, कागती ७.८ हेक्टरमा र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ ।
कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगंगा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । उनले भने, “कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । फलफूल बगैँचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौं ।’’
आवाजपत्र । ४ असार २०८२, बुधबार १०:०९