‘‘बीमालाई जनमुखी बनाउन व्यापक जनचेतनाको खाँचो छ’’ मुख्यमन्त्री कंडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विपत व्यवस्थापनमा बीमाको भूमिका अपरिहार्य रहेको बताएका छन् । उनले बीमालाई जनमुखी र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायले आफ्नो भूमिका सकारात्मक ढंगले निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कंडेलले जनचेतनाको अभावले बीमा कम्पनीहरू जनतासम्म पुग्न नसकेको बताए । “हिजोको सोच परिवर्तन हुँदै गएको छ, तर अझै जनतामाझ पुग्न सकेका छैन,’’ उनले भने, “जनचेतनाका कार्यक्रमलाई व्यापक बनाउनु जरुरी छ ।’’

उनले कर्णालीका सबै नागरिकलाई अनिवार्य बीमामा आबद्ध गराउन प्रस्तावसमेत गरे । विपद्का बेला बीमा सहयोगी बन्ने भएकाले यसप्रति जनस्तरमा सही बुझाइ आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित जीवन बीमा र घर बीमा कार्यक्रमबारे जानकारी दिँदै भने, “आयस्रोत कम हुँदाहुँदै पनि प्रदेश सरकारले विपद्मा मृत्यु भएका व्यक्तिको जीवन बीमा गरिदिने व्यवस्था गरिसकेको छ । यस वर्षदेखि विपत् घर बीमा सञ्चालनमा ल्याएर अघि बढेका छौं ।”

उनले सबै तहका सरकारहरूले बीमालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “विपद् कहिले र कसरी आउँछ थाहा हुँदैन । त्यसैले सरकारले सीमित स्रोतसाधनमै नागरिकलाई सुरक्षित अनुभूति गराउन अग्रसर हुनुपर्छ ।”

देशको आर्थिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा कठिनाइ हुने उल्लेख गर्दै उनले सेवा नपुगे जनताले सरकारप्रति विश्वास गुमाउनेतर्फ सचेत गराए । “काम गर्ने शैली फेरिनुपर्छ, केवल बीमा कम्पनीको कारोबार बढ्नु अर्थतन्त्रको सुधार होइन,” उनले जोड दिए ।

बीमा र विकास एकआपसमा गाँसिएको उल्लेख गर्दै कंडेलले कृषि, पशु तथा बाली बीमालाई सहज र व्यावहारिक बनाउन कानुनी सुधार आवश्यक रहेको बताए । मुख्यमन्त्री कंडेलले अन्त्यमा भने, “बीमा जनताको भरोसायोग्य साथी बन्नुपर्छ । हामी कार्यगत र नीतिगत दृष्टिकोणमा जनतालाई सुरक्षित अनुभूति गराउने दिशामा प्रतिबद्ध हुन आवश्यक छ ।”

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा विहीवार गरिएको प्रभातफेरी कार्यक्रममा सुर्खेतस्थित विभिन्न विमा कम्पनीहरुको सहभागिता रहेको थियो ।