फोहोरलाई मोहोर बनाउदैः कृष्णप्रसाद

गीता थापा

सुर्खेत । अरुलाई छि, छि लाग्ने फोहोर कृष्णप्रसाद ढकाललाई मोहोर लाग्छ । वीरेन्द्रनगर ११ सिमलकुना बस्ने ढकाललाई अरुले फालेको फोहोर आजभोली मोहोर लाग्ने गरेको हो । सब्जी मण्डी, बधशाला, विभिन्न फार्मबाट गोवर र आर्मी ब्यारेकमा जम्मा भएको फोहोर संकलन गरी उनले गड्यौला मल, जैविक मल, प्राङ्गारिक मल, झोल मल उत्पादन गर्छन् ।

२०६३ सालमा के.पि. व्यवसायी सेवा प्रा.लि. स्थापना गरी नियमित्त रुपमा वातावरण संरक्षणका लागि फोहोर संकलन गर्दै आएका छन् । एक युवा हुनुको नाताले कृष्ण प्रसादले आफु स्वदेशमै बसेर फोहोरलाई मोहोरमा रुपान्तरण गर्न लागेको बताए । उनले भने, ‘विदेश जाँदा त्यहाँको विकास देखेर आफ्नो देशको माया जागेर आयो, अनि आफ्नै देश फर्किए । उनले थपे, ‘वातावरण कै क्षेत्रमा काम गर्दै गर्दा विभिन्न देशहरु घुमे अन्य मुलुकले गरेको विकास देखेर आफ्नो देशमा केही गर्नु पर्छ भन्ने लागेर यो व्यवसाय सुरु गरे ।’

वातावरण संरक्षण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले फार्म दर्ता गरेको उनले बताए । नेपाल सरकार उर्जा मन्त्रालयको आर्थिक सहयोग, प्रदेश र स्थानीय सरकारको संमन्वयमा १४ करोड ५० लाख लागत लागेको फार्ममा अहिले १३ जना युवाले रोजगारी पाएका छन् । रोजगारी पाउने १० जना पुरुष ३ जना महिला रहेका छन् । २० बर्षका लागि २ बिगा जग्गा भाडामा लिएर अर्गानिक खेतीमा धान उत्पादन, मौसमी तरकारी, वृक्षारोपण, भैसी तथा गाई पालन, कुखुरा पालन गर्दै आएका छन् । अहिले उनको फार्ममा ६ वटा मुर्रा जातका भैसी र एउटा गाई रहेका छन् । ढकालको फार्ममा गाई भैसीको रेखदेख भने वीरेन्द्रनगर ४ भैरवस्थानका सागर भट्टराईले गर्दै आइरहेका छन् । सागरले दिनमा ६० लिटर दुध विक्रि गर्दै आएको बताए । उनले भने, ‘विहान वेलुकाको गरी दिनमा ६० लिटर दुध अहिले विक्रि गर्दै आइरहेका छौ ।’ सागरले फार्ममा काम गरे वापत मासिक २० हजार तलव पाउँछन् । उनी थप्छन्, ‘विदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा बसेर २० हजार कमाएको ठुलो लाग्छ मलाई, अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नै परिवारसंग बसेर थोरै कमाउनु आनन्द आउँछ ।’ पछिल्लो समय युवाहरु विदेश जाने रहर चल्दा सागरलाई भने कहिले विदेश जाने सोच आएन । उनी भन्छन्, ‘हजारौ युवा विदेशिनु नेपालका लागि दुभाग्र्यको कुरा हो, तर मलाई भने विदेश जाने कहिल्यै सोच नै आएन ।’

फार्मका सञ्चालक ढकालले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखिनुले फोहोर व्यवस्थापनमा समस्या भएको बताए । उनले भने, ‘वन जंगलमा खेर गएको पातहरु जम्मा गरेर कम्पोष्ट मल बनाउने तयारी पनि छ, यसले वनमा लाग्ने डँडेलो न्युनिकरणमा मद्दत पुग्छ ।’ यस्तै युवाहरुले दिवसहरु मनाउँदा तिथी मिति हेरेर हैन वातावरण हेरेर दिवस मनाउने आचारणको विकास गर्नुपर्ने उनको भनाई छ । जन्मदिन मनाउँदा केमिकल युक्त केक काट्नु भन्दा एउटा रुख रोपेर मनाउन उनले आग्रह गरे । वातावरण संरक्षणका लागि ढकालले कलेज, विद्यालय, गाउँपालिका, नगरपालिका, वडा, टोलमा गएर सचेतनामुलक कार्यक्रम गर्ने गरेका छन् । के.पि.व्यवसाय सेवा प्रालिले सञ्चालन गरेको पलान्टमा हाल ३० टन फोहोर हाल्न सक्ने क्षमता रहेको छ । यस्तै ९ टन मल उत्पादन हुन्छ भने ६ सय २० किलो ग्याँस उत्पादन गर्दै आइरहेको छ । गँड्यौला मल, जैविक मल, प्राङ्गारिक मल, झोल मल खपत गर्ने कृषकहरु दिन प्रतिदिन बढ्दै गएका छन् । ढकालले भने, ‘एक पटक मल किन्न आउने ग्राहक फेरी फेरी दोहेयाएर आउनु भएको छ, यसैमा खुसी छु ।’

कृष्णप्रसाद ढकालले आफ्नो विगत सम्झदै भने, ‘पहिला अर्काको पसलमा काम गर्थे, दैनिकी गुजरा त चलेकै थियो तर मलाई आफ्नै केही व्यवसाय गर्नु पर्छ भन्ने लागेर कम्पनी दर्ता गरे ।’ साहुँको काम छोडेर उनले घरघरका विद्युतको विल संकलन गरी विद्युतमा विल तिरिदिने काम पनि गरे । उनले त्यति मात्र होइन खुर्सानी, जिरा धनियाँको धुलो विक्रि गर्ने, सुधारिएको चुलो बनाउने, वैकल्पिक उर्जा, घरघरमा वायु ग्याँस उत्पादन गर्दै आए । ढकाले पहिले देखि नै व्यवसायिक योजनाहरु बनाउने गरेकाले व्यवसाय गर्न सहज भएको बताए ।

यस्तै फोहोरलाई मोहोर बनाउने ढकालका पनि आफ्नै समस्या र चुनौती छन् । ढकालले वातावरण संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित निकायले त्यति चाँसो नदिएको बताए । उनले भने, ‘गैर कृषकलाई अनुदान दिन सरकारका कर्मचारी व्यस्त छन्, यसरी स्वदेशमै बसेर बढ्दो जलवायु परिवर्तनलाई न्युनिकरण गर्न लागेका युवाहरुलाई प्रोत्साहन स्वरुप सरकारले कार्यक्रम नल्याउनु भनेको लाँखौ सपना बोकेका युवाहरुको दुर्भाग्य हो ।’ बैंकले ७ प्रतिशतमा दिएको ऋण १७ प्रतिशतले वृद्धि गरेको ढकालले गुनासो गरे । उनले थपे, ‘बजारमा कच्चा पदार्थको कमि छ, स्थानीयलाई आफ्नो घरको फोहोर छुट्याएर राख्ने चेतनाको विकास छैन, सरकारले फोहोर व्यवस्थापनका लागि सचेतनामुलक सेमिनार र गोष्ठीहरु सञ्चालन नगर्दा आम नागरिकमा चेतना छैन, यसले हामीलाई काम गर्न समस्या भइरहेको छ ।’

 

चार परिवारलाई कामसंगै बस्ने व्यवस्था

ढकालले सञ्चालन गरेको के.पि. व्यवसायिकमा चार परिवारका सदस्यलाई काम दिनुको साथै बस्ने व्यवस्था समेत गरिएको छ । कामदारको घर जिल्ला बाहिर भएकाले फार्ममै चार परिवारलाई बस्ने व्यवस्था गरिएको ढकालले बताए । जाजरकोटकी विजया जैसीको परिवारले एक बर्ष देखि फार्ममा रोजगारी पाएको छ । जैसीले आफ्ना छोराछोरी पढाउनकै लागि जाजरकोट छोडेर सुर्खेत आएको बताइन् । उनले भनिन्, ‘सुर्खेतमा बसेर पहिला लेवर काम गथ्र्यौ, खान लाउन धौं धौं पुग्थ्यो, छोरा छोरीलाई पढाउन समेत गाहे हुन्थ्यो, अहिले छोरा छोरी पढाउन सहज भएको छ, प्रत्येक महिना बित्ने बित्तिकै श्रीमानको नभई आफ्नै खातामा तलव आउछ ।’ पहिला सरकारी विद्यालयमा पढेका उनका छोराछोरी अहिले बोर्डिङ स्कुलमा पढ्ने गर्छन् । विजयाका श्रीमान विष्णु जैसी पनि उक्त फार्ममा नै काम गर्छन् । उनीहरु भन्छन्, ‘छोरा छोरीको भविष्य बनाउन सुर्खेत झरेका थियौ, फार्ममा रोजगारी पाएसंगै हाम्रो सपना पुरा भएको छ, मेहनत गरे आफ्नै गाउँठाउँमा पनि कमाउन सकिने रैछ ।’

स्थानीयको सहयोग

वीरेन्द्रनगर ११ का स्थानीय तथा नगरयुवा सञ्जालका अध्यक्ष कुँवेर थापाले वातावरण संरक्षणका लागि आफुहरुले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘आफ्नो टोलमा कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्ने गरेका छौ, गएको असार महिनामा मात्र देउती सामुदायिक वनमा तीन सय बिरुवा वृक्षारोपण ग¥यौ, के.पि. व्यवसाय प्रालि हाम्रो टोलमा आएदेखि वातावरण संरक्षणमा थप टेवा पुगेको छ । उनले रोजगारीका लागि दक्ष युवाको व्यवस्थापन नभएको गुनासो पोखे । दक्ष प्राविधिक तथा फार्ममा स्थानीयलाई रोजगारी दिनुपर्ने उनको भनाई छ ।

यस्तै, स्थानीय ३० बर्षिया देवीसरा शर्माले आफ्नो घरवरिपरि, टोलमा, खोला खाल्सामा फोहोर नभेटिने बताइन् । उनले भनिन्, ‘प्रत्येक शनिवार सबैै युवाहरु मिलेर वातावरण संरक्षणका लागि सरसफाईमा जुट्ने गरेका छौं, कुहिने नकुहिने फोहोर छुट्याउछौ, कुहिने फोहोर जति के.पि. व्यवसाय प्रालिलाई बुझाउने गरेका छौ ।’ के.पि. व्यवसायले फोहोर उठान थालेदेखि अहिले आफ्नो टोल सफा भएको उनले बताइन् । अर्की स्थानीय ३३ बर्षिया विष्णा सुनारले वायुग्याँस कम्पनी आफ्नो घर नजिक आएपछि सुरुमा डर लागेको बताइन् । उनले भनिन्, ‘यो पलान्ट पट्कियो भने ठुलै बम पट्के जस्तो हुन्छ क्षति पनि गर्छ भनेपछि हामीले बिरोध समेत गरेका थियौ, अहिले बुझ्दै गएपछि राम्रो लागेको छ, वातावरणमा पनि अहिलेसम्म कुनै समस्या देखिएको छैन ।’

वातावरण संरक्षणमा चूनौती

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय योजना तथा अनुगमन महाशाखा प्रमुख रेनुका न्यौपानेले वातावरण संरक्षणमा चुनौती रहेको स्वीकार गरिन् । उनले भनिन्, ‘बर्षेनी बनजंगल फडानी, आगलागी, फोहोर जन्य बस्तुको व्यवस्थापनमा निक्कै गाह्रोे भएको छ, वीरेन्द्रनगर नगरपालिकाका सबै वडामा रहेका नागरिकले वातावरण संरक्षणमा ध्यान दिएका छैनन्, हामीले परिवर्तित वातावरणमा अनुकुलन बनाउने लापा कार्यक्रम समेत सञ्चालन गरेका छौ ।’ उनले वृक्षारोपण कार्यक्रम, जलवायु उत्थानशिल कार्यक्रम लागु गरेको बताइन् । जलवायु परिवर्तन न्युनिकरणका लागि दक्ष जनशक्ति र बजेट अभावका कारणले कार्यान्वयनमा गाह्रो भएको उनको भनाई छ ।

२०३० सम्ममा बसोबास योग्य शहर बनाउने लक्ष्य

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले वातावरण संरक्षणमा नगरपालिकाले वृहत रुपमा वृक्षारोपण कार्यक्रमहरु गर्दै आइरहेको बताइन् । उनले भनिन्, ‘वीरेन्द्रनगरलाई हामीले सन् २०३० सम्ममा वातावरणका हिसावले बसोबास योग्य शहरको रुपमा घोषणा गर्ने गरी तयारीमा लागेका छौ, त्यसका लागि वीरेन्द्रनगरमा बनेका र बन्दै गरेका सडकमा कुन विरुवा रोप्दा उपयुक्त हुन्छ भनि अध्ययन गरी विरुवा रोपेका छौ ।’ यस्तै नगरपालिकाले फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरी व्यवस्थापन गर्दै आइरहेको छ । मेयर ढकालले फोहोर विर्सजनका लागि व्यवस्थापन गरी अहिले वार्षिक रुपमा आम्दानी समेत गरेको बताइन् ।

ढकालका अनुसार नगरपालिकाले सुर्खेत उपत्यकाको उत्तरी जलधार संरक्षणका लागि ठाउँ ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने कार्यक्रम ल्याएको छ । खोला करिडोरहरु निमार्ण गर्ने र वृक्षारोपण गरी हरियाली बनाउने, पुर्वाधारको निमार्ण गर्दा वृक्षारोपण गर्ने, जलवायु अनुकुलन कार्यक्रम समेत ल्याएको ढकालको भनाई छ । यस्तै फोहोरबाट मोहोर बनाउने कृष्णप्रसादको कामको प्रसंशा गर्दै मेयर ढकालले वातावरण संरक्षणमा युवाको पनि महत्वपूर्ण भुमिका हुने बताइन् ।