सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरिएको छ । शनिबार (आज) आयोजित विशेष समारोहका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालले वडालाई वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरेका हुन् ।
वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय शासन नगर बालमैत्री सम्पर्क व्यक्ति माधुरी न्यौपानेले घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ को अनुसार वडा नं. ८ ले ५१ वटा सूचक तथा मापदण्ड पूरा गरेपछि यो उपलब्धि हासिल भएको जानकारी दिइन् ।
उनका अनुसार बालमैत्री स्थानीय शासनका लागि नेपाल सरकारले तोकेको ५१ सूचक र २८ खुड्किला अन्तर्गतका पाँच चरणहरूको सफलता प्राप्त गर्नुपर्ने व्यवस्था छ । वडा नं. ८ ले ती सबै मापदण्डहरू पूरा गरेको छ । बाल संरक्षणका क्षेत्रमा १४ सूचक, बालविकासमा ६, बाल सहभागितामा ६, तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा १५ सूचकहरू पूरा गरिएको छ ।
वडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा सरसफाइ संस्था, विद्यालय र आमा समूहहरूको विशेष योगदान रहेको सम्पर्क व्यक्ति माधुरी न्यौपानेले बताइन् ।
वडाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा, पूर्ण खोप वडा घोषणा, पोषणमैत्री तथा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा, सुत्केरी आमा र बालबालिकालाई पोषण सामग्री तथा अतिरिक्त पोषण भत्ता वितरण, ‘हजार दिन’ अभियान अन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सचेतना र परामर्श कार्यक्रम सञ्चालन, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुगाको औषधि वितरण, नियमित वृद्धि अनुगमन, साबुनपानी प्रयोगको अभ्यास तथा शुद्ध पिउने पानीबारे सचेतना लगायतका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ ।
वडाका ८२ प्रतिशत घरपरिवारमा पानी पुगेको छ भने बाँकी १८ प्रतिशत परिवारले निजी इनार, बोरिङ तथा पाइपमार्फत पानी उपयोग गर्दै आएका छन् ।
यस्तै विद्यालयस्तरका किशोरकिशोरी तथा आमासमूहलाई स्वच्छता, साबुनपानी प्रयोग, शुद्ध पानी, र पोषण सम्बन्धी नियमित प्रशिक्षण तथा सचेतना कार्यक्रमहरू दिइँदै आएको छ ।
वडा नं. ८ का वासिन्दाको सहकार्य, वडाको सक्रियता र सम्बन्धित निकायहरूको सहभागिताले गर्दा यो वडाले सुर्खेतमै पहिलो वातावरणमन्त्री तथा बालमैत्री वडा बन्ने गौरव प्राप्त गरेको हो ।
आवाजपत्र । २१ असार २०८२, शनिबार १६:१०