सुर्खेत । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बाट किसानहरु लाभन्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानहरुलाई प्रोत्साहन गर्न २०७८÷७९ देखि किसानहरुलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार दुध उत्पादन गर्ने किसानहरुलाई प्रोत्सानह गर्न हिमाली जिल्लाहरुमा प्रतिलिटर १० रुपियाँ र बाँकी जिल्लाहरुम प्रति लिटर पाँच रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका किसानलाई १० रुपियाँ र सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रति लिटर रु पाँच रुपियाँ अनुदान दिँदै आएको हो ।
मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दुध उत्पादन वृद्धि हुँदै गएको र किसानहरु पनि यस कार्यक्रमबाट लाभन्वित हुँदै गएको बताउँनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार पाँच सय दुध उत्पादक किसानहरु लाभान्वित भएका थिए । दुई लाख ८२ हजार सात सय लिटर दुधमा २८ लाख २७ हजार भुक्तानि गरेको थियो ।
यस्तै आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ५३ जना किसानहरु लाभान्वित भएका छन् । २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा तीन हजार ७७६ जना किसानहरु लाभन्वित भएका थिए । उक्त आर्थिक वर्षमा ३७ लाख ९१ हजार ४२९ दुध उत्पादन भएको थियो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रदेश सरकारले एक करोड ३७ लाख आठ हजार रुपियाँ विनियोजन गरेको छ । सुचना अधिकारी बरालले चालु आर्थिक वर्षको अर्थवार्षिकसम्म एक हजार ६५ जना किसान लाभन्वित भएको जानकारी दिनुभयो । बाँकी किसानहरुलाई अहिले भुक्तानीको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
आवाजपत्र । २२ बैशाख २०८२, सोमबार ०८:१९