सुर्खेत । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ २०२५’ वीरेन्द्रनगर, सुर्खेतमा हुने भएको छ। वैशाख ९ र १० गते शुभ होटलमा आयोजना हुने सो कन्क्लेभ दुई दिनसम्म सञ्चालन हुनेछ।
आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गरिएको हो। कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा कन्क्लेभको तयारी गरिएको हो।
कार्यक्रममा प्रदेश र संघीय तहका ५० भन्दा बढी विज्ञ वक्ताको सहभागिता रहनेछ। कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यमा हुने जनाइएको छ।
कन्क्लेभमा ३ वटा कीनोट प्रस्तुतिहरू, ८ वटा लाइटनिङ टक र १० वटा प्यानल छलफल हुनेछन्। छलफलका विषयहरूमा डिजिटल पूर्वाधार, शिक्षा, फिनटेक, नेतृत्व र नीति निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, स्टार्टअप र उद्यमशीलता लगायतका क्षेत्र समेटिनेछन्।
साथै, कन्क्लेभमा कर्णाली प्रदेशका लागि विकास गरिएका १० भन्दा बढी डिजिटल समाधान तथा आइडियाहरूको प्रस्तुति र प्रदर्शनी समेत गरिनेछ। कार्यक्रमले कर्णालीको डिजिटल अवस्थाको समिक्षा गर्दै आगामी रणनीतिका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
कन्क्लेभमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, सरकारी अधिकारी, स्थानीय तहका जनप्रतिनिधिहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सूचना प्रविधि विज्ञ तथा युवाहरू गरी ४ सयभन्दा बढी सहभागी रहनेछ।
आयोजकका अनुसार, कन्क्लेभले नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा प्रविधिमार्फत जीवनशैलीमा रुपान्तरण ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आयोजकको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।
आवाजपत्र । ७ बैशाख २०८२, आईतवार २२:०७