सुर्खेत । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले ५६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा मंगलबार प्राधिकरणले पुरस्कार वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बीमा जोखिम न्यूनिकरण गर्ने महत्वपूर्ण वित्तीय अंग भएको बताउँदै यसको पहुँच दुरदराजका क्षेत्रहरूमा पु¥याउनु पर्ने आवश्यकता रहेको बताए । उनले बीमामा आमनागरिकहरूलाई समेट्नका लागि बीमा सम्बन्धी नीतिगत सुधार र प्रक्रियागत सुधार हुनुपर्नेमा जोड दिए । बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री केसीले प्रदेश सरकारबाट अगाडि बढाइएका बीमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । मन्त्री केसीले कर्णालीमा बीमा व्यवसाय नफस्टाउनुमा चेतनाको कमी र गरिबीको कारण भएको उल्लेख गरे ।
त्यस्तै मध्यश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुव कुमार गौतमले बीमा भविष्यको जोखिम बहन गर्ने र भविष्यका समस्या समाधानका लागि समर्पित क्षेत्र भएको बताउँदै मध्यपश्चिम विश्वविद्यालयले बीमा र व्यवस्थापन विषयलाई संगै जोडेर बीमा व्यवस्थापनका क्षेत्रमा सुरुदेखि नै पाठयक्रम निर्माण गर्नुका साथै अध्ययन,अध्यापन गर्दै आइरहेको बताए । “विश्वविद्यालय ज्ञानको भण्डार र ज्ञान प्रदान गर्ने थलो हो ।” उनले भने, “समय र मुलकको माग अनुसार परिवर्तित अवस्थामा मुलुकको आवश्यकता अनुसार कार्यक्रमहरु विश्वविद्यालयले सिर्जना गर्नूपर्छ ।” स्थानीय, प्रादेशिक, केन्द्रीय तथा देशैभरको आवश्यकता अनुरुपका पाठ्यक्रमहरु निर्माण गर्दै बजारमा माग अनुसारको जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने विश्वविद्यालयको मान्यता रहेको उपकुलपति गौतमको भनाई छ । गौतमले पाठ्यक्रमको परिवर्तित सन्दर्भ पनि आएको जानकारी गराउँंदै बजारको माग पुरा गर्न र विश्वविद्यालयबाट उत्पादित जनशक्ति खपत गराउनको लागि आवश्यकता अनुरुप बीमालाई पाठ्यक्रममा समायोजन गरेको समेत बताए ।
यस्तै कार्यक्रममा बैंकर्स एसोशियसन कर्णाली प्रदेशका अध्यक्ष डा. सुरज टण्डनले बीमा बित्तीय क्षेत्रको ऐना भएको बताउँदै यस क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले बीमा क्षेत्रमा बहुआयामिक चुनौति तथा जोखिमहरु रहेको हुँदा जोखिम न्यूनिकरणमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदीराम डाँगीले कर्णालीमा ३७ हजार १ सय ९६ उद्यमीहरू भएको र जसमध्ये ४ प्रतिशत उद्यमीलाई मात्र बीमामा समेट्न सकिएको भन्दै यसप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराए । उनले गाडी चल्ने ठाउँमा वा राजधानीमा मात्रै बीमाको पहुँच रहेको भन्दै कर्णालीका प्रत्येक पालिका र वडाहरुमा बीमा बिस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सभाध्यक्ष गर्दै प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले समग्र बीमित, बीमक, सर्भेयर ,अधिकर्ता, बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
विभिन्न कार्यक्रम
वार्षिकोत्सवको अवसरमा प्राधिकरणले सुर्खेत जिल्लामा भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुमा बीमा सम्बन्धी जनचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम, पुरुष तथा महिलाको फुटसल प्रतियोगिता, पुरुषको स्लो बाइक र महिलाको स्लो स्कुटर राइड प्रतियोगिता,वृहत रक्तदान कार्यक्रम, प्रभातफेरी, पुरस्कार वितरण तथा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै, जेठ १ गते नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाको ५५औँ वर्ष पूरा गरी ५६औँ वर्ष प्रवेश गरेको अवसरमा मंगलवार विहान प्रभात फेरी आयोजना गरेको थियो । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयबाट सुरु गरिएको प्रभात फेरी मंगलगढी चोक, वीरेन्द्र चोक र घण्टाघर हुँदै पुनः प्राधिकरणको कार्यालय परिसरमा पुगेर टुङ्गिएको थियो । प्रभात फेरीमा सहभागीहरुले हात हातमा प्ले कार्डहरु लिएका थिए । प्ले कार्डमा बीमा सम्बन्धी जनचेतनामूलक सन्देशहरु उल्लेख गरिएका थिए ।
उक्त प्रभातफेरि कार्यक्रममा प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कर्णाली प्रदेशमा सञ्चालित सबै जीवन, निर्जीवन, लघु जीवन बीमा तथा निर्जीवन लघुबीमाका कर्मचारी, सर्भेयर, अभिकर्ता लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
बीमा व्यवसायको नियमनकारी निकाय बीमा प्राधिकरणले वैशाख २७ गते दिउँसो ३ बजे सुर्खेतको सुब्बाकुना र वैशाख २८ गते बिहान ६ बजे बाङ्गेसिमल बाट बाहिरिने र भित्रिने सवारी साधनहरुमा बीमा सम्बन्धी सचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम सम्पन्न गरेको थियो ।
त्यस्तै, वैशाख २९ गते प्राधिकरण, जीवन, निर्जीवन र लघु बीमा कम्पनीका कर्मचारीहरु (पुरुष र महिला) बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर ४, भैरवस्थान स्थित योद्धा फुटसल ग्राउण्डमा भएको प्रतियोगितामा पुरुषतर्फ ७ ४ को गोल अन्तरमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको टीम विजेतार सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको टीम उपविजेता भएको थियो ।
महिलातर्फ निर्जीवन बीमा कम्पनीको संयुक्त टिमले २(१ गोलको फरकमा जीवन बीमा कम्पनीको टिमलाई हराउँदै प्रथम स्थानमा आफ्नो कब्जा जमायो भने जीवन बीमा कम्पनीको संयुक्त टिमले द्वितिय स्थान हात पारेको थियो ।
प्राधिकरणले वैशाख ३० गते वार्षिक उत्सवकै अवसरमा स्लो बाइक पुरुष र स्लो स्कुटर (महिला) राइड प्रतियोगिता समेत आयोजना गरेको थियो । वीरेन्द्रनगर नगरपालिका ७ धमलाचोकदेखि उत्तरतर्फ (गणेशचोक) ७५ मिटरसम्म भएको स्लो बाइक राइडमा टेकबहादुर थापाले प्रथम स्थान (२ मिनेट २० सेकेण्ड), मिलन कँडेलले द्वितिय स्थान (२ मिनेट १७ सेकेण्ड), चक्र बहादुर विष्टले तृतिय स्थान (२ मिनेट १६ सेकेण्ड), र केशव ढकालले (१ मिनेट ४९ सेकेण्ड) चौथो स्थान हासिल गर्न सफल भए ।
महिलातर्फ शिलु मल्ल प्रथम (२ मिनेट ३ सेकेण्ड), तुलसा ओली द्वितिय (१ मिनेट ४९ सेकेण्ड), नविना सिर्नेट मगर तृतिय (१ मिनेट ४५ सेकेण्ड) भइन् भने तुलसी कुमारी वन सन्यासी (१ मिनेट ४१ सेकेण्ड) ले चौथो स्थान ओगट्दै सान्त्वना पुरस्कारप्राप्त गरिन् ।
वैशाख ३१ गते प्राधिकरणले वृहत रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । रक्तदानमा ४० जना भन्दा बढी सहभागी थिए । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।
आवाजपत्र । १ जेष्ठ २०८१, मंगलवार २२:२३