बिचौलिया मार्फत झ्यालबाट योजना माग्न नआउनुस्ः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी बजेटमा योजना छनोटलाई संख्यागत बनाइने बताएका छन् ।

आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सुझाव लिन मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकारसँगको छलफलमा उनले यसअघिका सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटमा समेटिने साना आकारका योजनाले विकास बजेटमा प्रभाव परेको उल्लेख गर्दै आगामी बजेटमा बिचौलिया मार्फत झ्यालबाट योजना माग्न नआउन आग्रह गरेका हुन् । विगतका सरकारले अगाडि बढाएका तर हालसम्म पनि सम्पन्न हुन नसकेका राम्रा योजना तथा कार्यक्रमलाई अलपत्र छोड्न नमिल्ने भन्दै कँडेलले योजना समयमै सक्ने गरी एकद्वार प्रणालीमा आधारित बजेट निर्माणको क्रममा रहेको बताए ।

क्षमता, अवस्था र स्रोत समृद्ध कर्णालीका मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले कर्णालीलाई विकासको पथमा लैजान राजनीतिक नेतृत्व एक्लै दौडिएर सम्भव नहुने बताए । कँडेलले भने, ‘मसँग आमनागरिकले पृथक् अपेक्षा राखेका छन्, यसमा म मात्रै दौडिएर हुँदैन, एउटा राजनीतिक नेतृत्व मात्रै दौडिएर हुँदैन, यसमा हाम्रो समग्र संयन्त्र दौडिनुपर्छ, यसमा राज्यको चौथो अङ्ग पनि सकारात्मक भाव जगाउनतर्फ लाग्नुपर्ने अवस्था छ ।’

यस्तै, कोहलपुर–सुर्खेत सडक चार लेनको बनाउन, सुर्खेत विमानस्थल विस्तार गर्न, सुर्खेतको तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण गर्न, कर्णाली र भेरी करिडोर तथा कालीकोटदेखि मुगुको नाङ्चेनाङ्ला सडकलाई स्तरोन्नति गर्नका लागि पनि संघीय सरकारसंग आग्रह गरेको उनले बताए । उनले भने, कति सम्बोधन हुन्छ हेर्न बाँकी छ, संख्यामा थोरै तर कर्णालीको रुपान्तरणमा योगदान गर्ने योजनालाई प्राथमिकता दिन संघीय सरकारलाई महसुस गराउने प्रयास गरेको छु ।’

सुर्खेत विमास्थल विस्तारका लागि प्रदेशसँगै संघीय सरकारले पनि हिस्सा लिनुपर्ने उनको भनाई छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कँडेलले आगामी वर्षको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान लगायतका सञ्चार क्षेत्रका कार्यक्रमलाई समेट्ने प्रतिबद्धता जनाए ।