निजामती कर्मचारी संगठन सुर्खेतले ग¥यो वृक्षारोपरण कार्यक्रम

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, सुर्खेतले मंगलबार सहिद मनोज–झपेन्द्र–सुरेन्द्र ३४ औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । गत वर्ष वीरेन्द्रनगर नगरपालिका वडा नं ११ मा रहेको भेरी नदीको समोझी घाटमा सहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति विश्रामस्थल निर्माण गरेकोमा अहिले त्यस ठाउँको वरिपरी वृक्षारोपण गरेको हो ।

संगठनका अध्यक्ष सीता कंडेलले वेलपत्र, रुद्राक्ष, कपुर, स्वामी लगायतका धार्मिक कार्यमा उपयोगी हुने विरुवाहरु लगाईएको जानकारी दिइन् । उहाँका अनुसार विश्रामस्थल वरपर सरसफाइ समेत गरिएको छ । उक्त कार्यक्रममा पेसागत महासंघ नेपाल कर्णाली प्रदेश सह–इन्चार्ज डोर प्रसाद उपाध्याय, नेपाल निजामती कर्मचारी संगठनका कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरी, सह– इन्चार्ज टंक प्रकाश लामिछाने, वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष खिमलाल देवकोटा, लगायतको सहभागिता रहेको थियो ।

संगठनले पहिले पनि वृक्षारोपण गरेको र यसपटक थप व्यवस्थित ढंगले ट्रिगार्ड र मलको पनि व्यवस्था गरी अलि व्यवस्थित ढंगले गरेको अध्यक्ष कंडेलले जानकारी दिइन् । अब विरुवाहरुलाई जोगाउन थप सहजता हुने र सरोकारवाला सबैले विरुवाको जगेर्ना गर्न जरुरी रहेको उहाँको भनाई छ । संगठनले सहिद स्मृति दिवसको सम्झनामा हरेक वर्ष रचनात्मक सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ । संगठनले यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । बुधबार साउन १४ गते विहान जिल्ला कार्य समिति र प्रदेश तथा केन्द्रीय कार्य समिति बीच मैत्रीपूर्ण फुटबल कार्यक्रम र बुधबार साँझ नै मानवसेवा आश्रम सुर्खेतमा भोजन अर्पण गर्ने कार्यक्रमको आयोजना गरेको छ । साउन १५ गते बिहीबार विहान संगठन कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।