सुर्खेत । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुका ८०४ कक्षाका पाँच जना भन्दा कम विद्यार्थी संख्या भएको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कर्णालीमा रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा उक्त संख्यामा विद्यार्थी संख्या कम देखिएको हो । केन्द्रद्धारा आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक निर्देशक हरिप्रसाद अर्यालले माथिल्ला कक्षाहरुमा अझ विद्यार्थी संख्या कम देखिएको उल्लेख गरे ।
कर्णालीमा दुई हजार ९८४ विद्यालयहरु रहेका छन् । उक्त विद्यालयहरुमा आठ सय चार कक्षामा पाँच जना भन्दा कम विद्यार्थीहरु रहेका हुन् । यस्तै दश जना भन्दा कम विद्यार्थी संख्या रहेका कक्षा एक हजार ८३३ रहेका छन् । १५ जना भन्दा कम विद्यार्थी संख्या रहेको कक्षा दुई हजार ४५८ रहेका छन् । २० जना भन्दा कम विद्यार्थी संख्या रहेका कक्षा दुई हजार ७६२ रहेका छन् । उनले देश भर रहेका २७ हजार ७७८ विद्यालयहरुमा पाँच जना भन्दा कम विद्यार्थी संख्या रहेका कक्षाको संख्या नौ हजार ६६१ रहेको जानकारी दिए । उनका अनुसार १० जना भन्दा कम विद्यार्थी संख्या रहेको कक्षा संख्या १७ हजार ४४४, १५ जना भन्दा कम विद्यार्थी संख्या रहेको कक्षाको संख्या २१ हजार ५७५, २० जना भन्दा कम विद्यार्थी संख्या रहेको कक्षाको संख्या २३ हजार ९१६ रहेका छन् ।
उनले माथिल्लो कक्षाहरुमा विद्यार्थी संख्या कम रहेको उल्लेख गरे । विद्यार्थीहरुले बिचमै विद्यालय छोड्ने, शहरका विद्यालयमा पढ्न जादाँ गाउँका विद्यालयमा कम हुने, प्राविधिक विषयहरु आकर्षण कम, प्राविधिक धारतर्फको विद्यालयहरुमा कक्षा ११ र १२ मा कम विद्यार्थी संख्या रहेको उनले जानकारी दिए । राज्यले सहयोग अनुदान दिएका प्राविधिक विद्यालयहरुमा अहिले विद्यार्थीहरु अभाव भएको उनको भनाई छ । उनले सामुदायिक विद्यालयहरुमा शिक्षक, पूर्वाधारलगायतका कारणले पनि सोचे अनुसार नतिजा आउन नसकेको बताए । यद्यपी सरकारले सामुदायिक विद्यालयको सुधारका लागि विभन्न मापदण्ड, कार्यविधिहरु तयार गरेर विभिन्न कार्यक्रम संचालन गरेको उनले जानकारी दिए । दिवा खाजालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एक÷एक वटा मेगा किचेन संचालनको तयारी गरिएको उनले बताए । उनले विद्यालयमा संचालनका लागि स्थानीय तहलाई एक वर्ष भित्र शिक्षा योजना बनाउन भनेको जानकारी दिए ।
आवाजपत्र । १४ माघ २०८१, सोमबार १४:०१