एमाले सुर्खेतको ९५ सदस्यीय सल्लाहकार परिषद् गठन

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी एमाले सुर्खेतको ९५ सदस्यीय जिल्ला सल्लाहकार परिषद् गठन गरिएको छ । सुर्खेतका ९ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी कृष्णदेव गिरीको संयोजकत्वमा सल्लाहकार परिषद् गठन गरिएको हो ।
आइतबार स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परिषदका सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । उनले पार्टीको विधानमा भएको व्यवस्था अनुसार सल्लाहकार परिषद् गठन भएको भन्दै सल्लाहकार समितिको भूमिका महत्त्वपूर्ण रहने बताए । मुख्यमन्त्री कँडेलले कमिटीको गतिविधि र निर्णयमा समेत सल्लाह दिन सकिने भएकोले गतिशील भएर काम गर्न सुझाव दिए ।
एमालेका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्लाका इन्चार्ज नवराज रावतले सल्लाहकार परिषद् एउटा सम्मानसँगै वडादेखि क्षेत्रसम्मका समितिलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । उनले पद सानो नहुने भन्दै पार्टीमा अधिकांश व्यक्ति सानै पदबाट आएकोले सम्मानलाई क्रियाशीलतामा ढाल्नुपर्ने बताए । एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले एउटै कमिटीमा अटाउन सक्ने अवस्था नभएपछि पार्टीले विधानमा नै योगदान गरेकोहरुको सम्मान र पार्टीलाई थप चलायमान बनाउन परिषद्ले योगदान गर्ने बताए । अध्यक्ष देवकोटाले वार्षिक कार्ययोजनामा थप सहज हुने भन्दै आजको आवश्यकतालाई संगठित रुपमा अगाडि बढाउन पार्टीको मुख्य उद्देश्य रहेको बताए । एमाले सुर्खेतका उपाध्यक्ष मोहन बडुवालले परिषद् गठन भएसँगै पार्टीले महत्त्वपूर्ण अपेक्षा राखेको बताए । सल्लाहकार परिषदका संयोजक कृष्णदेव गिरीले परिषद्लाई चलायमान बनाउनेगरि योजना बनाएको र पार्टीलाई थप उचाइमा पुर्याउने प्रतिवद्दता व्यक्त गरे ।