व्यक्तिका आँतुरताले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्भव छैनः मुख्यमन्त्री कँडेल

सुर्खेत । आगामी मंसिरमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारले तत्परता नदेखाउँदा आयोजना गर्न सम्भव नरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । संघीय सरकारले तत्परता नदेखाउँदासम्म व्यक्तिका आँतुरताले प्रतियोगिता आयोजना गर्न सम्भव नरहेको उनको भनाई छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मिति सार्न प्रदेश सरकार लागि परेको छ भन्ने गलत बुझाई रहेको बताए । मुख्यमन्त्री कँडेलले सानो ठाउँमा ठूलो कार्यक्रम गर्दा ध्यान दिनुपर्ने पनि बताए । प्रतियोगितालाई लक्षित गरी रङ्गशाला वरिपरीको सडक तथा सुर्खेत विमानस्थल नजिकको पक्की नाला निर्माण लगायतको कार्यलाई तीव्रता दिइएको कँडेलको भनाई छ ।

संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय नै दोधारमा परेको अवस्थामा खेलकुद परिषद् तातिनुले कुनै अर्थ नराख्ने उनको भनाइ थियो । प्रदेश सरकारले राष्ट्रिय प्रतियोगिताका लागि आन्तरिक तयारी स्वरुप प्रदेश रंगशाला निर्माणलाई तीव्रता दिएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले कहाँ कुन खेल खेलाउन सकिन्छ भन्ने विषयमा निश्चित नभई लगानी गर्न नसकिने समेत बताए ।

प्रतियोगिता आयोजनाका लागि संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको उल्लेख गर्दै कँडेलले कर्णालीको भरोसा, योग्यता र क्षमतामा आँच आउन नदिने गरी प्रदेश सरकार आन्तरिक तयारीमा रहेको बताए । कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्याललाई फेर्न खोजको भन्दै प्रदेश सरकारमाथी लगाइएको आरोप मिथ्या रहेको समेत कँडेलले बताए ।

यस्तै, सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा पत्रकारहरूले राखेको प्रश्नमा संघीय सरकारलाई सहमत गराएर अगाडि बढाउनु पर्ने परियोजना रहेको उल्लेख गर्दै संघ सरकार तयार भए प्रदेशले आफ्नो भाग बहन गर्न तयार रहेको बताए ।

संघीय सरकारले विमानस्थल विस्तारमा नभई स्तरोन्ततिमा बजेट विनियोजन भएकाले दोधार रहेको उनले बताए । विमानस्थल विस्तारको विषयलाई निरन्तर उठाइरहेको उल्लेख गर्दै प्रदेशको हैसियतभन्दा बाहिर रहेको विषयलाई लिएर नकारात्मक टिकाटिप्पणी नगरिदिन पत्रकारहरूलाई कँडेलले आग्रह गरे ।

यस्तै मुख्यमन्त्री कँडेलले स्वास्थ्य र शिक्षा क्षेत्रको लागि कर्णालीका तीन जिल्ला जाजरकोट, सल्यान र रुकुमपश्चिममा ५० करोड रकम नीति तथा कार्यक्रममा समावेश गराइएको जानकारी दिए ।

कर्णाली प्रदेश स्थापनाका लागि ज्यान गुमाएका ४ सहिदको फोटो मन्त्रालयमा राखिने र सहितका परिवारका एक सदस्यलाई रोजगारीको लागि पनि पहल भइरहेको उनको भनाई छ ।