बालिका शिक्षा सुधारमा जोड

सुर्खेत । बालिका शिक्षा सुधारमा जोड दिइएको छ । सरोकारवालाहरुले सरकारको नीति तथा कार्यक्रम र बजेट वृद्धि गरेर बालिका शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । NCE Nepal ले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको बालिका तथा समावेशी शिक्षा सञ्जाल रणनीति मस्यौदा तथा कार्ययोजनाको प्रदेशस्तरीय परामर्श कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । कर्णालीका बालिकाहरुको शिक्षामा विशेष जोड दिने उद्देश्यले ‘रणनीति २०८१’ निर्माण गरिएको छ ।


कार्यक्रममा सहभागि विन्दुलाल रेग्मीले बालविवाह न्यूनिकरण गर्नका लागि पनि बालिका शिक्षामा जोड दिनुपर्ने बताए । निर्माण गरिएको रणनीति योजनामा कर्णालीको भूगोल सुहाउँदो योजना समावेश गर्नुपर्नेमा उनले जोड दिए । स्थानीय सरकार बढी उत्तरदायी हुनेगरी योजना कार्यान्वयनमा जोड दिइएको छ । सिमान्तकृत, लोपउन्मुख क्षेत्रका बालिकाहरुलाई अक्षय कोष स्थापना गरी शिक्षाको पहुँचमा ल्याउन उनले सुझाव दिए ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले ‘रणनीति २०८१’ को ड्राफ्प अन्तिम चरणमा पुगेको बताइन् । उनले नीति बनेर कागजमा मात्र सिमित नराख्न भन्दै सबै स्थानीय तहमा यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय भित्रसम्म आउने वातावरण बनाउन यो नीति ल्याउन लागिएको उनले बताइन् ।

प्रत्येक स्थानीय सरकारले पालिका स्तरमा आवासीय विद्यालय बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।