चन्द्रको परिवारलाई जुट्न थाल्यो सहयोग

सुर्खेत । छिमेकीको जग्गामा त्रिपालमुनि किरिया गरिरहेका चन्द्र कामीको परिवारलाई विभिन्न संघ सस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गरिरहेका छन् ।

शुक्रवार सञ्चारीका समूह कर्णाली प्रदेशले आर्थिक सहयोग गरेको छ । समूहकी अध्यक्ष सिता वली र कोषाध्यक्ष सिर्जना बुढाथोकीको नेतृत्वमा चन्द्रको परिवारलाई भेटेर नगद पाँच हजार सहयोग गरिएको हो । अध्यक्ष वलीले सञ्चारीका सँग कुनै आर्थिक फण्ड नभए पनि चन्द्रको परिवारमा परेको दुःखलाई समूहले नजर अन्दाज गर्न नसकेर थोरै भए पनि सहयोग गरिएको बताइन् ।

कोषाध्यक्ष बुढाथोकीले परिवारका सदस्य गुमाउँदाको पिडासँगै अर्काको जग्गामा त्रिपालमुनि किरिया गर्दाको पिडाले जो कोहीलाई पनि दुखी तुल्याउने बताइन् । सञ्चारीका समूहले गरेको सहयोगले आगामी दिनमा यस्ता खालका सहयोग गर्न चाहनेका लागी बाटो बनाएको कोषाध्यक्ष बुढाथोकीको भनाई छ ।

यस्तै, चन्द्रको परिवारलाई दलित महिला सङ्घ (फेडो) र इनर हृवील क्लबले पनि खाद्यान्न सहयोग गरेको छ । आर्थिक अवस्था नाजुक भएका चन्द्रको परिवारलाई केही दिन भए पनि खाद्यान्नको कमी नहोस् भनी चामल, दाल, तरकारी तथा फलफूल लगायतका सामाग्री सहयोग गरिएको दलित महिला सङ्घ फेडोकी अध्यक्ष मञ्जु सुनारले बताइन् । इनर हृवील क्लबकी वर्ष २०२४÷२०२५ की अध्यक्ष रश्मि शाक्यले समाजमा दुःख परेका परिवारका लागि आफ्नो संस्था सधैँ साथमा रहेको बताइन् । उनले ठुलो सहयोग नसके पनि सानो सहयोगले उनीहरूको केही समस्या समाधान गर्न सक्ने भन्दै सबैले सहयोग गरिदिन अनुरोध गरिन् ।

साउनको पहिलो साता ज्याला मजदुरीका लागि भन्दै भारतको चण्डी गढ पुगेका चन्द्रले पुगेको दुई दिनमै श्रीमती गुमाएका थिए । बस्ने बास र खाने गाँस नभएर जीविकोपार्जनका लागी भन्दै भारत पुगेका चन्द्र श्रीमतीको निधनले शोकमा डुबेका छन् । श्रीमती गोमा सँगै चन्द्रको खुसी पनि उजाडिएको छ । चन्द्रले आफूलाई यो दुःखबाट उत्रिन नसकेको बेला यसरी सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् ।