कर्णालीमा दुई प्रतिशतको मात्र डिम्याट खाता

सुर्खेत । कर्णाली प्रदेशमा शेयर बजार तथा बस्तु बिनियम बजारका लागि तीन प्रतिशत जनसंख्याले मात्र डिम्याट खाता खोलेका छन् । वित्तीय साक्षरता ५९.७ प्रतिशत रहेको कर्णालीमा दुई प्रतिशतले मात्र डिम्याट खाता खोलेको पाइएको छ ।

नेपाल धितोपत्र बोर्डको आयोजना तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्वयमा सोमवार सुर्खेतमा भएको धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्वन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिबृद्धि कार्यक्रममा शेयर बजारजस्ता विषयबस्तु कर्णाली प्रदेशका लागि नौलो भएका कारण न्यून मात्रामा डिम्याट खाता खोलेको पाइएको जनाइएको छ । धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले कर्णालीमा वित्तीय साक्षरता दर ५९.७ प्रतिशत रहेको तर डिम्याट खाता खोल्ने जनसंख्या ३ प्रतिशतमात्र रहेको बताए ।

उनले नेपालभर ६५ लाख बढीले डिम्याट खाताबाट शेयर बजारमा लगानी गरेको जानकारी दिदैं लगानी तथा रोजगारीका अवसर जुटाउन शेयर बजारलगायतको वारेमा सचेत हुन जरुरी रहेको उल्लेख गरे । शेयर बजारले लगानीको ठूलो अवसर जुटाउने भएकोले बोर्डले प्रदेशस्तरका पत्रकारहरुलाई यसबारेमा सचेतीकरण गराउँदै हिंडेको उनको भनाइ छ । आर्थिक पत्रकारितामा शेयर बजारले पनि क्रमशः स्थान पाउँदै गएको हुँदा आगामी दिनमा यसलाई थप प्राथमिकता दिन उहाँले आग्रह गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले धितोपत्रबारे पत्रकार मात्र होइन, यहाँ अन्य सर्वसाधारणले पनि पर्याप्त मात्रामा जानकारी नपाएको बताइन् । उनले प्रदेशको आर्थिक विकासका लागि लगानी र पुँजी परिचालन गर्न धितोपत्रबारे अभिमुखीकरण आवश्यक रहेको भन्दै नयाँ विषय भएकोले यसलाई संचारमाध्यममार्फत सचेतना फैलाउन गरिएको कार्यक्रमले टेवा पुग्ने उल्लेख गरिन् । नेपाल

धितोपत्र बोर्डका राजु विसीले अहिले यसको सचेतनाका लागि प्रदेश स्तरमा अभिमुखीकरण गराउँदै आएको जानकारी दिए । कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटा, दौलतकुमार राजवंशी, राजु विसी, नेपाल स्टक एक्सचेन्जका मिलन मगरलगायतले धितोपत्र, शेयर बजारलगायतका वारेमा अभिमुखीकरण गराएका थिए ।