जुम्ला । जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ।
साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन्दारी २० प्रतिशत, हिमामा १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन्।
कार्यालयले कुष्ठरोग नियन्त्रण कार्यक्रम पनि स्थानीय तहसँग सहकार्यमा काम गर्दै आएको छ। जिल्लामा दुई दशमलव पाँच प्रतिशत कृष्ठरोगीका विरामी छन्। खोप कार्यक्रमबाट जिल्लाका ७८ दशमलव २ प्रतिशत बालबालिका खोपको पहुँचमा छन्।
चार पटक गर्भजाँच गर्ने र संस्थागत प्रसुतिदर जिल्लामा ५९ दशमलव नौ प्रतिशत छ। यहाँका आठवटै पालिकाको संस्थागत प्रसुति भएकामध्ये २० वर्षमुनिका किशोरीको १५ दशमलव सात प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका स्वास्थ्य सहायक सुरेश पन्तले जानकारी दिए।
जिल्लामा अस्पताल एक, प्रथामिक स्वास्थ्य सेवा केन्द्र एक, स्वास्थ्य चौकी २९, आधारभूत स्वास्थ्य सेवा केन्द्र २९, सामुदायिक स्वस्थ्य ईकाइ १२, सहरी स्वास्थ्य केन्द्र एक रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
कार्यालयले आमा सुरक्षा कार्यक्रम, परिवार योजना कार्यक्रम, प्रजनन स्वास्थ्य, किशोर किशोरी प्रजनन स्वास्थ्य र महिनावरी स्वच्छता कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग समन्वय सहकार्यमा काम गर्दे आएको छ।
(साभार, थाहाखबर)
आवाजपत्र । २२ असार २०८१, शुक्रबार २०:२७