सुर्खेतमा डेंगी रोगका बिरामी बढ्दै, बढी जोखिम वीरेन्द्रनगरमा

सुर्खेत । सुर्खेतमा डेंगी रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको अवधिमा सुर्खेतमा डेंगी रोगका बिरामी बढ्दै गएका हुन् ।

आर्थिक वर्ष २०७७/०७८ मा छ सय ३९ जना, आर्थिक वर्ष २०७८/०८९ मा एक हजार तीन सय २२ जना, आर्थिक वर्ष २०७९/०८० मा एक हजार चार सय ८४, आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय ७१ र आर्थिक वर्ष २०८१/०८२ मा एक हजार आठ सय ३७ जनामा डेंगी रोग देखिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्राबिधिक शाखा तथा मलेरिया निरीक्षक उदय बिसीले बताए ।

आर्थिक वर्ष २०७८/०८९ मा पाँच हजार तीन सय ३० जनामा डेंगी परीक्षण गर्दा एक हजार तीन सय २२ जना, आर्थिक वर्ष २०७९/०८० मा आठ हजार चार सय १६ जनामा डेंगी परीक्षण गर्दा एक हजार चार सय ८४, आर्थिक वर्ष २०८०र०८१ मा आठ हजार नौ सय ५२ जनामा डेंगी परीक्षण गर्दा पाँच सय ७१ जनामा र आर्थिक वर्ष २०८१/०८२ मा चौध हजार ३७ जनामा डेंगी परीक्षण गर्दा एक हजार आठ सय ३७ जनामा डेंगी रोग देखिएको मलेरिया निरीक्षक बिसीले जानकारी दिए ।

सुर्खेतका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी डेंगीको जोखिम सुर्खेतमा बढी देखिएको छ । सुर्खेत नौ पालिकामध्ये गत आर्थिक वर्ष २०८१/०८२ जेठ महिनासम्म सुर्खेतमा एक हजार आठ सय ३७ जनामा डेंगीको संक्रमण देखिएकोमा एक हजार आठ सय चार जना सुर्खेतका रहेका र अन्य ३३ जना जिल्ला बाहिरको रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

त्यसमध्ये वीरेन्द्रनगर नगरपालिकाका एक हजार चार सय १६, गर्भाकोट नगरपालिका एक सय ४३,पञ्चपुरी नगरपालिका एक सय ३५, लेकबेसी नगरपालिका ३८, भेरीगंगा नगरपालिका २९, चिङ्गाड गाउँपालिका नौ, सिम्ता गाउँपालिका छ जना र चौकुने गाउँपालिका एक जनामा डेंगी सक्रमण देखिएको थियो ।

डेंगीका कारणले चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । बराहताल गाउँपालिका एक जना, वीरेन्द्रनगर नगरपालिका दुई जना र गुर्भाकोट नगरपालिका एक जनाको मृत्यु भएको कार्यालय जनाएको छ ।

यस्तै, सुर्खेत जिल्लामा पनि श्रावण महिना–डेंगी सचेतना महिना राष्ट्रिय अभियान घोषणा कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम अन्र्तगत बिभिन्न कार्यक्रम गर्ने योजना रहेको मलेरिया निरीक्षक बिसीले बताए ।

उनका अनुसार ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियानमार्फत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा संगठित संस्थाहरूमा सरसफाई तथा लामखुट्टे प्रजनन स्थलहरूको खोजी र नष्ट गर्ने कार्य गर्ने÷गराउने, स्थानीयतहहरुले टोल विकास समितिहरु, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी ‘हप्ताको एक दिन, एक घण्टा हुदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ भन्ने नाराका साथ खोज तथा नष्ट अभियान सञ्चालन, डेंगी नियन्त्रणका रणनीति र समुदायस्तरमा गर्नुपर्ने गतिविधिबारे संघ, प्रदेश, तथा स्थानीय तहहरूमा छलफल तथा पैरवी र हरेक वार्डमा घरदैलो, समूह छलफल, पोस्टर÷ब्यानर वितरण लगायत माध्यमद्वारा डेंगीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने कार्यक्रम रहेको बताए ।