सुर्खेत । सुर्खेतमा पछिल्लो चार वर्षमा सवारी दुर्घटनामा परी १२१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार २०७८÷०७९ देखि २०८१÷०८२ सम्म चार वर्षको अवधीमा १ हजार ६ सय ७० वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी १२१ जनाको मृत्यु भएको हो । ट्राफिक कार्यालय सुर्खेतले चार वर्षमा गम्भीर घाइते ७ सय ३० जना र २ हजार १ सय ८९ जना सामान्य घाइते भएको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को १० महिनामा मात्र ३ सय ४३ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना गम्भीर घाइते भएका छन् । ५ सय ६ जना सामान्य घाइते भएका छन् ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९३ सवारी दुर्घटना भएको थियो भने उक्त दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते १ सय २९ र २ सय ४६ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०७९÷०८० मा तीन सय १९ वटा सवारी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने १ सय ४२ जना गम्भीर घाइते भएका थिए । ४ सय २३ जना सामान्य घाइते भएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय १५ सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते १ सय ८१ र १ हजार १४ जना सामान्य घाइते भएका थिए ।
दुई प्राङ्ग्रे सवारी धेरै दुर्घटना
सुर्खेतमा सबैभन्दा धेरै दुई प्राङ्ग्रे सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । दुईप्राङ्ग्रे साधनमा मोटरसाइकल र स्कुटर रहेका छन् । गत आव २०८०÷०८१ मा सुर्खेतमा ५७ प्रतिशत दुईप्राङ्ग्रे सवारी साधन दुर्घटनामा परेको तथाङ्क जिल्ला ट्राफिक कार्यालय सुर्खेतसंग छ । १३ प्रतिशत अटोरिक्सा, १० प्रतिशत जीप कार, ७ प्रतिशत माइक्रोफोर्स, ४ प्रतिशत बस र ट्रक, ३ प्रतिशत ट्याक्टर, १ प्रतिशत टिपर र साइकल दुर्घटना भएका छन् ।
यस्तै यस वर्षको तथाङ्क भने असार मसान्तमा मात्र सार्वजनिक हुने जिल्ला ट्राफिक कार्यालय सुर्खेतका कार्यालय प्रमुख वकिल सुनारले जानकारी दिए ।
दुर्घटनाको मुख्य कारण तीव्र गति
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले दुर्घटनाको कारणको आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने गरेको जनाएको छ । कार्यालय प्रमुख सुनारका अनुसार अघिल्लो वर्ष ५७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको थियो भने यो चालु वर्षमा पनि ५५ प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएका छन् ।
त्यस्तै, सडकको अवस्था, मादकपदार्थ सेवन, लापरबाही र ट्राफिक नियम उल्लंघनको कारण पनि दुर्घटना हुने गरेको उनको भनाई छ । सुनारले भने, ‘‘चार वटै आर्थिक वर्षमा दुर्घटनाको आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने र दोस्रो कारण सडक संरचनाका कारणले दुर्घटना हुने गरेको छ ।’’
उनका अनुसार सुर्खेत कर्णाली प्रदेशको राजधानी भएका कारण सवारी चाप धेरै हुने, सडक साघुँरो र आम जनमानसमा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव) का कारण जिल्लामा दिनानुदिन सवारी दुर्घटना हुने गरेको छ । उनले भने, “तीव्र गति, मापसे, ट्राफिम नियम उल्लंघन, मोबाइल फोनको प्रयोग, ट्राफिक संकेतको बेवास्ता लगायतका कारण दुर्घटना हुने गरेका छन् ।” उनले सवारी चालकहरूले आधारभूत ट्राफिक नियम नमान्दा दुर्घटनाको जोखिम बढेको बताए ।
दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षाबारे जनचेतना अभियान, कडाइका साथ ट्राफिक नियम कार्यान्वयन, चालकहरूको तालिम र अनुशासन आवश्यक रहेको प्रमुख सुनारको भनाई छ । उनले थपे, “जनता स्वयं पनि सवारी सुरक्षाबारे सचेत हुनुपर्छ । नियम पालना गरे दुर्घटनामा कमी ल्याउन सकिन्छ ।”
आवाजपत्र । ११ जेष्ठ २०८२, आईतवार ११:२६