सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले तथ्यमा आधारित सत्य समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गरेकी छन् ।
प्रेस चौतारी नेपाल सुर्खेतले शुक्रवार (आज) वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्थानीय तहमा समाचारका विषयवस्तु विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर ढकालले सञ्चारमाध्यमले सत्य–तथ्य सूचना मात्रै जनतामाझ पु¥याउनुपर्ने बताएकी हुन् । उनले तथ्यहीन र भ्रामक समाचारले समाजमा नकारात्मक असर पुग्ने गरेकाले खोजी र अनुसन्धानमुलक सूचना सम्प्रेषण गर्न सुझाव दिईन् । उनले तीन तहको सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको बताउँदै स्थानीय तह नै जनजीवनसँग निकट रहेको धारणा राखिन्। “सत्य सूचनामा सबै नागरिकको पहुँच हुनु आवश्यक छ,” उनले भनिन्, “सञ्चारकर्मीहरूले सही–गलत दुवै खालका काम जनसमक्ष ल्याउनु जरुरी छ।”
पछिल्लो समय आमसञ्चारका नाममा सामाजिक सञ्जाल, अनलाइन र युट्युबहरुमा गलत, मनोगत र अनुमानमा आधारित तथ्यहीन विषयवस्तुले प्रश्रय पाईरहेको बताउँदै उनले लोकतन्त्रको रक्षा, मानवअधिकार, विधिको शासन र सामाजिक रुपान्तरणका लागि पत्रकारिता हुनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा वीरेन्द्रनगरका उपमेयर नीलकण्ठ खनालले स्थानीय सरकार र सञ्चारमाध्यमबीच निकट सम्बन्ध आवश्यक रहेको बताएका छन्। उनले जनताको हितका लागि राम्रा तथा सुधार गर्नुपर्ने पक्षमा मिडियाले टिका टिप्पणी गर्नुपर्ने बताए। उनले नागरिकलाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न पत्रकारले राम्रो कामको प्रशंसा र नराम्रो कामको खबरदारी गर्नुपर्ने बताए । वीरेन्द्रनगर भित्र लुकेका र लुकाईका थुप्रै विषयवस्तु अझैपनि बाहिर ल्याउन आवश्यक रहेको बताउँदै उनले निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिए ।
कार्यक्रममा नेकपा एमाले सुर्खेतका प्रचार तथा प्रसार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले आम नागरिकता प्रति जवाफदेही हुने पत्रकारिता नै आजको आवश्यकता भएको बताए । त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामप्रसाद शर्माले नेपाली पत्रकारिताको उन्नयन र विकासका लागि तीनै तहका सरकारसँग प्रेस चौतारी हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
यस्तै प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालले स्थानीय तहमा विकास निर्माणदेखि समाज रुपान्तरणका लागि उठान गर्नुपर्ने समाचारका थुप्रै विषयवस्तुहरु रहेकाले जिल्लाका सबै पालिकासँग समन्वय तथा सहकार्य गरिने बताईन् ।
उनले वीरेन्द्रनगर नगरपालिकाले पत्रकारिताको विकास तथा उन्नयनका लागि धेरै राम्रा प्रयासहरु शुरु गरेपनि अझै पर्याप्त हुन नसको औल्याईन् । कार्यक्रममा पत्रकार प्रकाश अधिकारीले ‘स्थानीय तहमा समाचारका विषयवस्तुको पहिचान र विषयक’ कार्यपत्र नै प्रस्तुत गरेका थिए ।
आवाजपत्र । ९ जेष्ठ २०८२, शुक्रबार १८:३४