कर्णालीमा प्रभावकारी बन्दै ‘‘छोरी–बुहारी छात्रवृत्ति’’ कार्यक्रम

गीता थापा

सुर्खेत । प्राविधिक विषयको उच्च शिक्षामा महिलाहरूको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘‘छोरी–बुहारी छात्रवृत्ति’’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु भएको कार्यक्रम अन्तर्गत हालसम्म कर्णालीका एक हजार ३१ जना छोरी बुहारीले अध्ययनको अवसर पाएका छन् ।

“छोरी भएर गाउँमा जन्मिनु आफैँमा चुनौती थियो, तर प्राविधिक शिक्षा पढ्छु भन्ने सपना देख्नु अझ ठूलो साहसको कुरा थियो,’’ सिम्ता गाउँपालिका–४ वजेडीचौरकी आश्मा केसीले भनिन्, उनी अहिले अमर ज्योती नमुना माध्मिक विद्यालय नेवारेमा जियोमेटिक्स इन्जिनियरिङ्गको छैठौँ सेमेस्टरमा अध्ययनरत छिन् । घरको आर्थिक अवस्था ठिकठाक भएपनि उनलाई पढाइमा आउने खर्चहरू व्यवस्थित गर्न भनेको समयमा समस्या नै थियो ।

“मध्यम वर्गीय परिवारको भए पनि प्राविधिक शिक्षा महँगो छ,’’ आश्मा भन्छिन्, “छात्रवृत्तिको जानकारी पाएपछि आवेदन दिएँ र छनोटमा परेँ । त्यसले मेरो पढाइ सहज बनाइदियो । आत्मबल बढ्यो, पढाइप्रतिको भरोसा अझ गहिरियो ।’’

उनको अनुभवमा, सरकारले छोरीहरूलाई पढाउने नीति लिएको महसुस हुँदा समाजले पनि सकारात्मक दृष्टिकोण राख्न थालेको छ । “छात्रवृत्तिले मलाई मात्र होइन, मेरो परिवारलाई पनि हौसला दिएको छ । हामी जस्ता छोरीलाई शिक्षा हासिल गर्नका लागि सरकारले ढोका खोलेको अनुभूति भएको छ,’’ उनले थपिन् ।

यस्तै वीरेन्द्रनगर–७ इत्रामकी पूर्णा कुमारी खड्काको जीवनमा शिक्षाको महत्व गहिरो थियो, तर आर्थिक अभावले उहाँको त्यो सपना पटक–पटक रोकिएको थियो । विवाहपछि बुहारी र आमा भइसकेपछि उनले पढाइलाई केही समय रोक्नुप¥यो । जिम्मेवारी बढ्दै गए पनि मनभित्र पढ्ने चाहना भने कहिल्यै मरेन । “म सानैदेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने सपना देख्थेँ,’’ उनी भन्छिन्, “तर घरको आर्थिक अवस्था कमजोर थियो । विवाहपछि त झन् पढ्ने आश नै मरेजस्तो भएको थियो ।’’

तर पूर्णाले हार भने मानिन् । जसोतसो केही आर्थिक स्रोत जुटाएर फार्मेसी पढ्न हिम्मत गरिन् । पढाइको बीचमा नै खर्च थेग्न गाह्रो हुँदै गयो । कलेजको मासिक शुल्क तिर्न नसकेर पढाइ रोक्नुपर्ने अवस्थामा समेत पुगेको उनी बताउँछिन् । पहिलो समेस्टर पढ्न जेनतेन पुगेको शुल्क दोस्रो सेमेस्टरमा नपुग्ने भएपछि पढाई कसरी अगाडी बढाउने भन्ने कुराले खड्कालाई तनाव थियो । “त्यही बेला मलाई छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबारे थाहा भयो,“ उनी भन्छिन्, “मैले आवेदन दिएँ र छनोटमा परेँ । त्यो क्षण मेरो लागि अवसरको ढोका जस्तै थियो । छात्रवृत्तिले मेरो पढाइमा एउटा इँटा थप्ने काम ग¥यो, जसले मेरो सपना ढल्नबाट जोगायो ।’’ पूर्णाले अहिले योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान केन्द्र वीरेन्द्रनगर ७ इत्राममा तीन वर्षे फार्मेसी अध्ययन गर्दै छिन् । “मलाई फार्मेसी पढ्ने धेरै मन थियो, तर खर्च थेग्न सक्ने स्थिति थिएन,’’ पूर्णाले थप्नुभयो, “छात्रवृत्ति नपाएको भए म कतिसम्म अगाडि बढ्थेँ थाहा छैन । आज म कक्षा कोठामा छु, प्रयोगशालामा छु, औषधिको बारेमा सिक्दैछु–यो सम्भव भयो किनकि सरकारले हाम्रो सम्भावनालाई देख्यो ।’’

उनी भन्छिन्, “हामीजस्ता बुहारीका लागि यो छात्रवृत्ति केवल राहत होइन, हौसला पनि हो । यसले हामीलाई अवसर मात्रै होइन, अगाडि बढ्ने बाटो देखाइदिएको छ । प्रदेश सरकारले हामीलाई गम्भीरतासाथ हेरिरहेको महसुस भएको छ, जुन हाम्रा लागि निकै महत्वपूर्ण कुरा हो ।’’ उनले छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहायता मात्र नभई कर्णालीका छोरी बुहारी, लोपउन्नमुख, दलित र अपाङ्गता भएकाहरुको सपना साकार पार्ने, आत्मबल जगाउने र आत्मनिर्भरता निर्माण गर्ने शक्तिशाली माध्यम बनेको बताइन् ।

आश्मा र पूर्णाको जस्तै प्रदेशको छात्रवृत्ति कार्यक्रमले दोस्रो अवसर खोजिरहेका कर्णालीका छोरी–बुहारीको जीवनमा शिक्षा पुनः सुरु गर्ने ढोका खोलिदिएको छ ।

उनीहरु मात्रै होइन, छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट प्रदेशका १० जिल्लाका एक हजार ३१ छोरी बुहारी लाभान्वित भएको प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालयले जनाएको छ । निर्देशनालय र यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमालले प्रत्येक वर्ष दिइने छात्रवृत्तिबाट प्रदेशका दशवटै जिल्लाका छात्राहरू लाभान्वित भएको बताइन् । प्राविधिक शिक्षामा छोरी–बुहारीको सहभागिता बढाउन, छोरी–बुहारीलाई आत्मनिर्भर बनाउन र प्रदेशमा सीपयुक्त जनशक्तिको अभावलाई कम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा कार्यविधिअनुसार सञ्चालन हुँदै आएको छ ।

निर्देशक हमालका अनुसार छनोट भएकालाई अध्ययन अवधिभर सरकारले एक पटकमा ५० हजार रुपैँया दिने गरेको छ । “हामीले यो कार्यक्रमको प्रभावकारितामाथि अध्ययन गरेर प्रतिवेदनसमेत तयार गरेका छौँ,’’ उने भनिन्, “छात्रवृत्ति पाएका छोरी–बुहारीहरू रोजगारीमा संलग्न छन् । प्राविधिक शिक्षा भएकाले कोही पनि बेरोजगार बस्नुपर्ने अवस्था छैन ।’’

हाल कर्णालीका नौ जिल्लाबाट १०–१० जना र सुर्खेतबाट २० जना छोरी–बुहारीले प्रत्येक वर्ष छात्रवृत्ति पाइरहेका छन् । कार्यविधिअनुसार छात्रवृत्ति रकम २४ हजारदेखि एक लाखसम्म दिने गरिएको छ ।

छात्रवृत्ति जिल्लाको जनसङ्ख्या र भूगोलको आधारमा कोटा निर्धारण गरिएको बताउँदै निर्देशक हमालले थपिन्, “सरकारको आर्थिक क्षमताले भ्याएसम्म यो रकम वृद्धि गरी सबै इच्छुक छोरी–बुहारीलाई समेट्न सके, कार्यक्रमको उद्देश्य अझ प्रभावकारी रूपमा पुरा हुने थियो ।’’

प्रदेश सरकारले सुरुको आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेकोमा एक करोड ३२ लाख ८८ हजार खर्च भएको थियो । उक्त आर्थिक वर्षमा एक सय ५० जना छोरी र बुुहारीहरू छात्रवृत्तिमा समेटिएका थिए ।

निर्देशनालयका अनुसार त्यसको पछिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशभर एक सय १० जना छोरी र बुुहारीले छात्रवृत्ति पाए । सो आर्थिक वर्षमा सरकारले एक करोड बजेट छुट्याएको थियो । जसमध्ये ७६ लाख १६ हजार आठ सय रूपैयाँ कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ४१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । उक्त वर्ष एक करोड ३० लाख ७१ हजार बजेट छात्रवृत्तिमा खर्च गरिएको थियो ।

आर्थिक वर्ष २०७८÷०७९ मा २ सय ४१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । उक्त वर्ष एक करोड २५ लाख रकम छुट्याइएको थियो । आ.व.२०७९÷०८० मा १ सय ८६ जना र आ.व. २०८०÷०८१ मा १ सय ८६ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । यस आवमा भने ३ करोड ७ लाख ७ हजार ६ सय रुपैयाँ छात्रवृत्तिमा खर्च भएको थियो ।

हरेक वर्ष सञ्चालन भइरहेको कार्यक्रमले यसपटक पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को छात्रवृत्ति रकम पनि वितरण भइसकेको प्रशासन, योजना तथा अनुगमन शाखाका प्रशाकीय अधिकृत लक्ष्मी प्रसाद पाण्डेले जानकारी दिए । उनले सुर्खेत जिल्लामा २० जनाको कोटा भए पनि आवेदन १९ जनाको आएको जानकारी दिए । उनका अनुसार १९ जना मध्ये पनि २ जनाले पहिला नै छात्रवृत्ति पाइसकेको हुनाले यस वर्ष सुर्खेतका १७ जना छोरी बुहारीले मात्र छात्रवृत्ति प्राप्त गरेका छन् । यस वर्ष सुर्खेत जिल्लामा मात्र १५ लाख ४६ हजार रुपैयाँ छात्रवृत्तिमा खर्च भइसकेको छ । अन्य जिल्लाको विवरण संकलन गर्ने काम भइरहेको अधिकृत लक्ष्मी प्रसाद पाण्डेले बताए ।

कार्यक्रम लागुभएदेखि हालसम्म छात्रवृत्ति पाउनेहरूमा उच्च शिक्षा प्राविधिक तर्फ दुई सय ८ जना, सिमान्तकृत तर्फ ६ जना, उच्च शिक्षा अपाङ्गता तर्फ एक सय ४५ जना र उच्च शिक्षा दलित तर्फ दुई सय ४६ जना, आन्दोलन र जनयुद्धका सहिदका लागि उच्च शिक्षा छात्रवृत्ति ५ जना र जेहेन्दार छात्रवृत्ति २० जनाले पाप्त गरेका छन् ।

सरकारले प्राविधिक उच्च शिक्षा अन्र्तगत छोरी बुहारी छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा शहीद भएका सन्ततिका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।