सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मोबाइल पत्रकारिता सूचनाको पहुँच विस्तार, सामाजिक सचेतना र कर्णालीको पहिचान निर्माणका लागि प्रभावकारी हुने बताएका छन्। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोकमा आईतबारदेखि सुरु भएको मोबाइल पत्रकारिता तालिमलाई सम्बोधन गर्दै उनले भने, “देशमा सरकार जोडिएर काम गर्दा मेरो विचारमा सकारात्मक परिणाम निस्केला भन्ने उद्देश्यका साथ मन्त्रालय कार्यक्रमको यो मोडेलमा प्रस्तुत भएको कुरा म तपाईहरूका बीचमा राख्न चाहन्छु।”
उनले प्रदेश सरकार सधैं स्वतन्त्र प्रेसको संरक्षण र प्रवर्द्धनमा रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, “कर्णाली प्रदेशको सांस्कृतिक विविधता, सामाजिक समस्या र सम्भावनाहरूलाई उजागर गर्न मोबाइल पत्रकारिता एक सशक्त माध्यम हो।”
मुख्यमन्त्री कँडेलले सूचनाको पहुँचलाई सबैसम्म समान रूपमा पुर्याउने कुरा सरकारको प्राथमिकता भएको उल्लेख गर्दै थपे, “तपाईंहरूले तालिममार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीको आवाज पुर्याउने महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।”
उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन पत्रकारहरूको भूमिकालाई अझ जिम्मेवार बनाउनु पर्ने आवश्यकता औंल्याय ।
अशिक्षा, कुपोषणजस्ता समस्याको पहिचानले मात्रै होइन, समाधानमा पत्रकारिताको भूमिका हुनुपर्नेमा जोड दिँदै उनले भने, “कर्णालीलाई अब अशिक्षा र कुपोषणका नामले चिनिने होइन, त्यसलाई बदल्ने अभिभारा र जिम्मेवारी तपाईं–हामी सबैको होस् भन्ने शुभकामना दिन चाहन्छु।”
उनले प्रशिक्षक र सहभागीहरूलाई आफ्नो सीप र समर्पणमार्फत तालिमलाई सार्थक बनाएकोमा धन्यवाद व्यक्त गरे ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले पत्रकारहरूको क्षमता अभिवृद्धि र अधिकार प्राप्तिका लागि महासंघले निरन्तर सहकार्य गर्ने बताए।
शर्माले पत्रकारिता क्षेत्र नागरिक समाजको अगुवा संस्था भएकाले जिम्मेवार र व्यवसायिक पत्रकारिताको अभ्यास अनिवार्य भएको उल्लेख गरे।
तालिमपछि व्यावहारिक प्रयोग र परिणाम देखाउने दायित्व सबै पत्रकारको भएको उल्लेख गर्दै उनले तालिम लिई सकेपछि व्यावहारिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
यो तालिम दुई दिनसम्म सञ्चालन हुनेछ ।
आवाजपत्र । ७ बैशाख २०८२, आईतवार १०:२५