संस्कृति जगेर्ना सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम 

सुर्खेत । युवालयले युवासँग हाम्रो सहयात्रा परियोजनामा जोडिएका तिन जिल्लाका युवाहरूलाई संस्कृति जगेर्ना गर्दै व्यावसायिक रूपमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा जानकारी दिएको छ । सङ्गीतको क्षेत्रमा कोरियामा बसेर काम गर्दै आएको वाइजी इन्टरटेन्मेन्ट र अक्सफाम नेपालको सहकार्यमा युवालयले कर्णालीको दैलेख, सुर्खेत र सुदूरपश्चिमको कैलालीका युवा जो परियोजनामा जोडिएर एडभान्स कम्प्युटर, सङ्गीत र नृत्य कक्षामा सहभागी भइरहेकाहरूलाई कार्यक्रमको आयोजना गरेको हो ।

युवाहरूलाई नेतृत्वदायी भूमिकामा पुराउन र पुर्खा देखी चलिआएको कला संस्कृतिलाई जोगाउन युवाको भूमिका महत्त्वपूर्ण हुने र समयसँगै परिमार्जित गरेर व्यावसायिक रूपमा कसरी जोड्न सकिन्छ भनेर युवालयले एक दिने कार्यशाला मार्फत जानकारी गराएको हो । वीरेन्द्रनगर नगरपालिका योजना शाखा प्रमुख प्रकाश पौडेलले स्थानीय तहमा हुने हरेक क्रियाकलापमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले युवा भनेकै समाजमा रूपान्तरण गर्ने बलियो खम्बा भएकाले नकारात्मक काममा खबरदारी गर्ने र सकारात्मक कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । ‘स्थानीय तहले गराउने योजना कस्ता बन्दै छन् ? बजेट कति विनियोजन भयो ? कुन कुन शीर्षकमा ? सबै युवाले जान्न र बुझ्न खोज्नुपर्छ’, उनले भने, ‘यति मात्रै होइन खर्च कहाँ कति भयो र युवाको शीर्षकमा लगानीको अवस्था के छ ? भन्ने विषयमा युवाले नै खोज्नुपर्छ ।’

श्रीनाथ फिल्मसंगका कार्यकारी निर्देशक निर्मल प्याकुरेलले भिडियो इडिट कसरी गर्ने र भिडियो अडियोको क्वालिटीका बारेमा कार्यक्रममा जानकारी दिए । उनले चलचित्र, नाटक तथा डकुमेन्ट्रीहरू बनाउन कस्ता विषयमा ध्यान दिनुपर्ने कुरा बताएका थिए । यस्तै दर्शन खबरका सम्पादक तथा कलाकार चिन्तामणि कँडेलले कलाकारिता तथा पत्रकारीताका चुनौती तथा सम्भावना जसले समाजमा पनि असर पु¥याउँछ भन्ने विषयमा जानकारी दिए । उनले चुनौती र समस्यासँगै समाधानका उपाय पनि कसरी खोज्ने भनेर युवाहरूलाई जानकारी दिएका थिए ।

युवालयद्धारा सञ्चालित युवासँग हाम्रो सहयात्रा परियोजनाकी कार्यक्रम संयोजक पूजा कार्कीले परियोजनाको विषयमा जानकारी दिँदै सुरक्षित रूपमा काम कसरी गर्ने सन्दर्भमा युवाहरूलाई जानकारी दिइन् । उनले कार्यक्षेत्रमा हुने शारीरिक तथा मानसिक दुर्व्यवहारबाट कसरी जोगिएर अगाडी बढ्ने सन्दर्भमा जानकारी दिएकी थिइन् ।