मदन भण्डारीले देखाएको मार्ग आज पनि नेपाली राजनीति र समाजको लागि मार्गदर्शकः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जननेता मदन भण्डारीले देखाएको मार्ग आज पनि नेपाली राजनीति र समाजका लागि मार्गदर्शक रहेको बताएका छन् । जननेता भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ नं. वडा कमिटी वीरेन्द्रनगर, सुर्खेतले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भण्डारीले प्रतिपादन गरेको विचार, सिद्धान्त र व्यवहार आजको राजनीतिक नेतृत्वका लागि अनुकरणीय रहेको बताए ।

उनले भने, “मदन भण्डारीले देखाएको बाटो दलगत सीमा भन्दा माथि उठेर समावेशी, प्रगतिशील र जनमुखी समाज निर्माण गर्ने बाटो हो । उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि नेपालको राजनीतिमा सान्दर्भिक छ।” मुख्यमन्त्री कँडेलले मुलुकमा स्थायित्व, समृद्धि र सामाजिक न्यायको स्थापना गर्न भण्डारीको विचारमा टेकेर अघि बढ्नुपर्ने बताए ।

भण्डारीको योगदान केवल राजनीतिक आन्दोलनसम्म सीमित नरहेको, समृद्ध समाज र जनमुखी राज्य निर्माणको दिशामा आधारित रहेको मुख्यमन्त्री कडेलको भनाइ थियो । भण्डारीको योगदानको चर्चा गर्दै उहाँको मूल्य, दृष्टिकोण र राजनीतिक निष्ठाले आजको पुस्तालाई प्रेरणा दिएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।