काठमाण्डौ । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच छलफल भइरहेको छ । गृहमन्त्री रमेश लेखक र व्यवसायीका प्रतिनिधिबीच छलफल भइरहेको छ ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ अर्थात् निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि समस्या समाधानका लागि छलफल भएको हो ।
आज काठमाण्डौ उपत्यकासहित देशभर बस, माइक्रोबस, ट्याम्पोजस्ता सार्वजनिक गाडी नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ । बिरामी, वृद्धवृद्धा, विद्यार्थी र कर्मचारीले अझै धेरै सास्ती खेप्नुपरेको छ ।
कोही सडक छेउमा उभिएर बसको प्रतीक्षा गरिरहेका देखिन्छन् भने कोही निजी गाडीमा चढेर र कोही पैदलै हिँडिरहेका छन् ।
यसैबीच नेपाल प्रहरीले सार्वजनिक गाडी नचल्दा सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज काठमाण्डौको दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
त्यस्तै सार्वजनिक बस नचलेको मौका छोपेर राइड शेयरिङ सञ्चालकहरूले मनपरी भाडा असुलेका छन् । प्रहरीले मनभरी भाडा लिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
आवाजपत्र । १९ जेष्ठ २०८२, सोमबार १२:२५