अरबी समुद्रमा डुबेको लाइबेरियन जहाजबाट तेल र रसायन चुहावटको चिन्ता

भारतको केरला राज्य नजिकै अरबी समुद्रमा लाइबेरियाको मालवाहक जहाज एमएससी ईएलएसए–३ डुबेपछि तेल र रसायन चुहावटका कारण तटीय क्षेत्रहरूमा उच्च सतर्कता जारी गरिएको छ ।

डुबेको जहाजबाट फर्नेस आयल र डिजेल चुहिएको आशङ्का गरिएको बीबीसीले जनाएको छ । जसले सामुद्रिक वातावरणमा गम्भीर असर पार्न सक्छ । दक्षिण–पश्चिम मनसुनको प्रभावका कारण क्षतिको यथार्थ मूल्याङ्कन तत्काल गर्न नसकिएको खबरमा उल्लेख छ ।

जहाजमा कुल ६ सय ४३ कन्टेनर लोड गरिएको थियो, जसमा १३ कन्टेनरमा क्याल्सियम कार्बाइड नामक रसायन पदार्थ थियो । यो रसायनबाट एसिटिलीन ग्यास उत्सर्जन हुने भएकाले थप जोखिम पैदा भएको छ ।

त्यसैगरी जहाजमा ८४ दशमलव ४४ मेट्रिक टन डिजेल र तीन सय ६७ दशमलव १ मेट्रिक टन फर्नेस आयल पनि लोड गरिएको थियो । यी इन्धन समुद्रमा फैलिनु मानव स्वास्थ्य र सामुद्रिक जीवन दुवैका लागि गम्भीर सङ्कट बन्न सक्ने चेतावनी दिइएको छ ।

अहिले तटीय सुरक्षाकर्मी र वातावरणीय निकायहरूले घटनास्थल नजिक निगरानी बढाएका छन् । भारतको केन्द्रीय तथा राज्य सरकारबीच समन्वय गर्दै आवश्यक काम भइरहेको छ । पर्यावरणविद्हरूले यस्ता घटनाहरूबाट सामुद्रिक पारिस्थितिकी चक्रमा दीर्घकालीन असर पर्ने चेतावनी दिएका छन् ।